चीनमा कोरोना भाइरसको अवस्था भयाभय, मृतकको संख्या बढ्दै


 


काठमाडौं, माघ ११
चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । शुक्रबारसम्म यो भाइरसबाट २६ जनाको मृत्यु भएको भनिएकोमा चीनियाँ अधिकारीहरुले अरु १५ जनाको समेत ज्यान गएको पुष्टि गरेका हुन् ।

हुबेई प्रान्तका यी १५ समेत गरी अहिलेसम्म चीनको मूख्यभूमीमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या तीन दर्जन नाघेको हो ।

मानिसबाट मानिसमा सर्ने भनिएको यो भाइरसबाट बचाउन चीन सरकारले ११ वटा शहरहरुमा यात्रामाथि प्रतिबन्ध लगाएको छ । नयाँ बर्ष लुनारको छुट्टीमा विश्वभर घुम्ने चीनियाँ यात्रुहरु पनि देशभित्रै थुनिएका छन् । कोरोना भाइरसका कारण झण्डै तीन करोड चीनियाँ यात्रुहरु घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

गत डिसेम्बरमा यो भाइरस पहिलोपटक चीनको वुहान प्रान्तमा भेटिएको थियो । अहिले यो भाइरस किन्घी र तिब्बतबाहेक चीनका हरेक प्रान्तमा फैलिएको छ । चीन बाहेक विश्वभर ९०० जनामा यो भारइसको संक्रमण देखिएको छ । चीनमा मात्रै १०७२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

प्रकाशित मिति: ११ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्