प्रचण्ड र गगनबिच किन भयाे बबाल ?


 


prachanda-gaganकाठमाडौं, भदौ २५

स्वास्थ्यमन्त्री गगन थापाले एक जना पूर्वविशिष्टलाई उपचार खर्च दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव ठाडै अस्वीकार गरेका छन् । विहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री प्रचण्डले पूर्व उपप्रधानमन्त्री डा. तुलसी गिरीको उपचार खर्च सरकारले व्यहोर्ने प्रस्ताव गरेका थिए ।

उक्त प्रस्तावलगत्तै विशिष्टको उपचार खर्च रोक्न लागिपरेका मन्त्री थापा आक्रमक रुपमा प्रस्तुत भए । उनले ‘के हो विशिष्ट ? को हो विशिष्ट ?’ भन्दै प्रचण्डको प्रस्ताव अस्वीकार गरे ।

भारतको बैंग्लौरमा उपचार गराएका पूर्व उपप्रधानमन्त्री डा. गिरीको उपचार खर्च बेहोर्ने सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् बैठकमा आउनासाथ स्वास्थ्यमन्त्री थापाले कडा रुपमा विरोध गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले डा. गिरी विशिष्ट व्यक्ति हो भन्दै उनको मागअनुसारको खर्च रकम स्वीकृत गर्न आग्रह गर्दा स्वास्थ्यमन्त्रीले अस्वीकार गरेको कांग्रेसका एक मन्त्रीले बताए ।

उनले भने- ‘प्रधानमन्त्रीको प्रस्ताव आउनासाथ गगन भाई एकाएक आक्रोशित भए । उनले ठाडै प्रस्ताव अस्वीकार गरे ।’ बैठकमा मन्त्री थापाले ‘यो मुलुकमा को विशिष्ट हो, होइन कसरी चिन्ने ? यो देशको नेतृत्वले आम नेपालीलाई नै किन विशिष्टको दर्जा दिन सक्दैन ? डा. गिरी विशिष्ट हो होइन कसरी थाहा पाउने ?’ भन्दै प्रधानमन्त्री प्रचण्डमाथि आक्रोश पोखेका थिए ।

यसअघि थापाले सपथ लिएपछि मन्त्रालयमा पहिलोपटक पत्रकार सम्मेलन गरी उपचार नपाएर जनता मरिरहेका बेला पूर्व विशिष्टलाई राज्यकोषबाट उपचारका लागि दिइने खर्च रोक्ने घोषणा गरेका थिए । उनको उठाएको यो विषय व्यवस्थापिका संसदसम्म पनि पुगेको थियो ।

प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्