राष्ट्रियसभा निर्वाचन हुँदै


 


काठमाडौं, माघ ९
संसदको माथिल्लो सदन राष्ट्रियसभाका १८ सदस्यका लागि बिहीबार मतदान हुँदैछ। ६ दलले भाग लिने निर्वाचनमा ४५ जना उम्मेदवार छन्।निर्वाचन आयोगले मतदानका लागि सबै तयारी पुरा भएको भन्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ।

सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमश मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन हँुदैछ । निर्वाचनका लागि ती जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुखले मतदान गर्न पाउनेछन। निर्वाचन आयोगका अनुसार सातवटा प्रदेशका ५ सय ५० जना प्रदेश सदस्य र १ हजार ५ सय ६ स्थानीय तहका पदाधिकारी गरी २ हजार ५६ जना मतदाता छन्।

बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मतदानका लागि मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली मतदानस्थलमा कडा रुपमा सुरक्षा दिइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

प्रदेश १ को बिराटनगर महानगरपालिकाको बीरेन्द्र सभागृहमा मतदान स्थल तोकिएको छ। उक्त केन्द्रमा यस केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तह सदस्यतर्फ २ सय ८४ गरी ३ सय ६७ मतदाता छन्। प्रदेश २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृती भवनमा मतदान स्थल तोकिएको छ। प्रदेश २ मा १ सय ७ प्रदेशसभा सदस्य र २ सय ७२ स्थानीय तहका गरी ३ सय ७९ जना मतदाता छन्। बागमती प्रदेशको ललितपुर महानगरपालिका वडा नं ४ वडासमितिको भवनमा मतदान स्थल तोकिएको छ। प्रदेश सभा सदस्यतर्फ १ सय १० र स्थानीय तह सदस्यतर्फ २ सय ३८ गरी ३ सय ४८ जना मतदाता छन्।

यसैगरी गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा मतदान स्थल तोकिएको छ। उक्त स्थलमा प्रदेश सभा सदस्यतर्फ ६० र स्थानीय तह सदस्यतर्फ १ सय ७० गरी २ सय ३० जना मतदाता रहेका छन्। प्रदेश ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवनमा मतदान स्थल तोकिएको छ। उक्त स्थलमा प्रदेश सभा सदस्यतर्फ ८७ र स्थानीय तह सदस्यतर्फ २ सय १८ गरी ३ सय ५ जना मतदाता छन्। कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसर भवनमा मतदान स्थल तोकिएको छ। उक्त स्थलमा प्रदेश सभा सदस्यतर्फ ४० र स्थानीय तह सदस्यतर्फ १ सय ५८ गरी १ सय ९८ जना मतदाता छन्। सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयमा मतदान स्थल तोकिएको छ। उक्त स्थलमा प्रदेश सभा सदस्यतर्फ ५३ र स्थानीय तह सदस्यतर्फ १ सय ७६ गरी २ सय २९ जना मतदाता रहेका छन्। प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारीले मत दिन पाउने भएपनि मतभार भने फरक हुनेछ। प्रदेश सभाका सदस्यको मतभार ४८ र स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको मतभार १८ रहेको छ।

निर्वाचन आयोगका अनुसार प्रदेश १ मा महिला, दलित र अन्य समूहमा तीनजना, प्रदेश २ मा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहमा चारजना, बागमती र गण्डकी प्रदेशमा महिला र अन्य समूहमा दुईदुई जना, प्रदेश ५ मा महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहका तीनजना, कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिला र अन्य समूह गरी दुईदुई जना गरी कुल १८ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुनेछन्।

निर्वाचनमा नेकपा, काँग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीगरी ६ वटा राजनीतिक दलले भाग लिदैंछन। प्रदेश १ मा रिक्त महिला, दलित र अन्य समूहमा ३/३ जनाका दरले जम्मा ९ जना उम्मेदवार, प्रदेश २ मा रिक्त महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूहमा २/२ जनाका दरले ८ जना उम्मेदवार, बागमती प्रदेशमा रिक्त महिला र अन्य समूहमा ३/३ जनाको दरले ६ जना उम्मेदवार, गण्डकी प्रदेशमा रिक्त महिला समूहतर्फ २ र अन्य समूहतर्फ ३ गरी ५ जना उम्मेदवार, प्रदेश ५ मा रिक्त महिला समूहतर्फ २ जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ ३ र अन्य समूहतर्फ ४ गरी ९ जना उम्मेदवार चुनावी मैदानमा छन। यस्तै कर्णाली प्रदेशमा रिक्त महिला र अन्य समूहमा २÷२ जनाको दरले ४ जना उम्मेदवार र सुदूरपश्चिम प्रदेशमा रिक्त महिला र अन्य समूहमा २/२ जनाका दरले ४ जना उम्मेदवार प्रतिस्पर्धामा छन। महिला समूहतर्फ १६, दलितसमूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ ५ जना र अन्य समूहतर्फ १९ गरी ४५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको आयोगले जनाएको छ। २ नम्वर प्रदेशमा राजपासँग चुनावी तालमेल गरेको सत्तासीन नेकपाले राष्ट्र्यिसभा निर्वाचन जित्ने निश्चित छ।

प्रकाशित मिति: ९ माघ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्