काम सबै छाडेर आफ्नै सेनाको गुप्तचरी!
काठमाडौं , माघ ८
नेपाली सेनामा अहिले शैक्षिक प्रमाणपत्र छानबिन कार्यलाई प्राथमिकतापूर्वक अघि बढाएको समाचार छ । गृहयुद्ध होस् वा प्राकृतिक विपत्त ज्यानको बाजी थापेर काम गर्ने अधिकृत हुन् वा बिल्लादार २०–२५ वर्षदेखि नेपाली सेनामा कार्यरत रहँदा किन कुनै खोजबिन भएन ? अहिले आएर अधिकृत दर्जादेखि जवानसम्मका सैनिकहरूको शैक्षिक प्रमाणपत्रलाई छानबिनको दायरामा ल्याइएपछि सेनामा एक खालको तरंग सिर्जना भएको छ ।
यति लामो अवधि सेनामा जागिर खाइसकेपछि अहिले एकाएक छानबिनको थालनी भएपछि सेवा छनौटकै बेला गरिनुपर्ने छानबिनको कार्य किन अहिले गरिंदैछ भन्ने प्रश्न पनि यससंगै उठेको छ । माओवादी सेनाबाट समायोजनका क्रममा नेपाली सेनामा प्रवेश गरेका लडाकूहरूको शैक्षिक योग्यता चाहिं दुरुस्त वा के कस्तो अवस्थामा छ त भन्ने प्रश्न पनि यससंगै चुलिएको बताइन्छ ।
बढुवा प्रक्रियामा एउटालाई एकथरी र अर्कोलाई अर्कोथरी मापदण्डसमेत किन अपनाइदैछ भन्ने प्रश्न समेत सिर्जना भएको छ । सेवा प्रवेशका क्रम, सुरुमा नै गर्नुपर्ने प्रक्रिया(छानबिन) अहिले सुरु गर्दा एकखालको आशंका र अविश्वासको वातावरण सिर्जना भएको नेपाली सेना स्रोतको भनाइ छ ।
राष्ट्रिय सुरक्षा र सूचना संकलनका लागि महत्वपूर्ण मानिने नेपाली सेनाको सैनिक गुप्तचर विभाग (DGMI) ले आतंककारी गतिविधिको निगरानी, राष्ट्रघाती तथा देशद्रोही कार्यको सूचना संकलन, सीमा सुरक्षा र अपराध आदिको अनुगमन गर्नुपर्नेमा सैन्य स्रोत र साधनलाई आफ्नै अधिकृत तथा जवानको पछाडि किन जासुसी गर्नमा व्यस्त बनाइएको भन्ने चासो र कौतूहलसमेत पैदा भएको छ, यतिबेला नेपाली सेनाभित्र ।
सैनिक स्रोतका अनुसार, अहिले मुलुकमा नेत्रविक्रम चन्द नेतृत्वको विद्रोही नेकपाका सशस्त्र गतिविधि, अन्य सुरक्षाका विषयमा अनुसन्धान , निगरानी गर्ने कार्यलाई प्राथमिकतामा पार्नुको साटो आफ्नै संगठनका अधिकृतहरुका पछाडि जासुसी गर्न, निजी र आन्तरिक मामिलामा प्रवेश गर्ने कार्यलाई कतिपयले नेपाली सेनामा असन्तुष्टिसमेत प्रकट गरेको पाइन्छ ।
गृह युद्धको समयमा ज्यानको बाजी थापेर भोकभोक लडेका, लामो समय सेनामात्याग र समपर्ण गरेकाहरुलाई जागिरको मध्ये समयमा शैक्षिक प्रमाणपत्रको निहुँ र कैफियतका कारण जागिरबाट हात धुनुपर्दा त्यस्ता अधिकृतहरु मानसिक हालत के हुने, कहाँ जाने भन्ने गंभीर समस्या सिर्जना हुँदैछ ।
यति लामो समय जागिर गरेर वृत्तिविकासको अवसरसमेत पाइसकेका सेनाका अधिकृतहरु अवकास छानबिनबाट घर जानुपर्ने अवस्था आएको सैनिक स्रोत बताउँछ । माओवादीसंग लड्दा, आतंककारी गतिविधिसंग जुध्दा शैक्षिक प्रमाणपत्रको लेखाजोखा नहुने तर बीचमा अहिले आएर छानबिनबाट दोषी करार गरी ४०/४२ वर्षको उमेरमा जागिरबाट लखेटेर घर पठाउँदा सैनिकहरूले अन्यायको महसुस गरेको भनाइ सम्बद्ध स्रोतको छ । तर, सेनाभित्र सोर्सफोर्स र नेतृत्वसमक्ष पहुँच भएका कैफियत शैक्षिक प्रमाणपत्रधारी सैनिकहरूले भने उन्मुक्ति पाएको बताइन्छ ।
प्रकाशित मिति: ८ माघ २०७६, बुधबार