इन्टरपोलका पूर्वप्रमुखलाई साढे १३ वर्षको जेल सजाय


 


काठमाडौं, माघ ८
अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका पूवर्प्रमुख मेङ होङ्वेलाई जेल सजाय सुनाइएको छ । चिनियाँ अदालतले भ्रष्टाचारको आरोप लागेका होङ्वेलाई १३ वर्ष ६ महिनाको जेलसजाय सुनाइएको हो ।

होङ्वे इन्टरपोलको नेतृत्व गर्ने पहिलो चिनियाँ नागरिक थिए । सन् २०१८ को सेप्टेम्बरमा फ्रान्सबाट चीन गएका उनी बेपत्ता भएका थिए । भ्रष्टाचार विरुद्धको राष्ट्रपति सी जिनपिङको अभियान अन्तर्गत उनलाई पक्राउ गरिएको चीनले पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ ।

उनले २० लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको स्वीकार गरेका छन् । तान्जिन नं. वान पिपल्स कोर्टले ५६ वर्षीय होङ्वेलाई २० लाख युवान जरिवाना तिर्न पनि आदेश दिएको छ ।अदालतका अनुसार मङले फैसलाविरुद्ध पुनरावेदन नगर्ने बताएका छन् । इन्टरपोलको मुख्यालय रहेको फ्रान्सबाट सन् २०१८ को सेप्टेम्बरमा चीन गएका उनी बेपत्ता भएका थिए ।

इन्टरपोल प्रमुखका रूपमा उनको कार्यकाल सन् २०२० सम्म थियो । तर उनी हराएको भनेर उनकी श्रीमतीले बताएको केही दिनपछि उनले पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति: ८ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्