कस्ताे छ चाडपर्व सुरक्षा ?


 


बित्तीय कारोबार क्षेत्र मुख्य निगरानीमा

काठमाडौं, भदाै २५

प्रहरीले हिन्दुहरुको महान् पर्व दशैं र तिहार आउन लाग्दा सुरक्षा संयन्त्रमा सजगता अपनाउन थालिसकेको छ । आर्थिक कारोबार हुने मुख्य स्थानमा प्रहरीले निगरानी बढाइसकेको छ ।

बैंक, सहकारी, सुनचाँदीका गरगहना पसल, रेमिटेन्स सेन्टर, व्यापारिक कारोबार हुने मुख्य केन्द्रजस्ता स्थानमा सादापोशाकमा प्रहरी परिचालन गरिएको हो । महानगरीय प्रहरी अपराध महाशाखाले सादा पोशाकमा पर्याप्त प्रहरी परिचालन गरेको जनाएको छ । महाशाखा प्रमुख एसएसपी सर्बेन्द्र खनालका अनुसार सादा पोशाकमा पहिलो चरणमा एक सय ५० जना प्रहरी परिचालित छन् । उनले भने, ‘आवश्यक परेमा थप संख्या परिचालित गरिने छ ।’

महाशाखाका एसपी प्रकाशजंग कार्की, सहकूल थापा र यज्ञविनोद पा्ेख्रेल पनि वित्तीय क्षेत्रको सुरक्षार्थका लागि खटिएका छन् । महाशाखामा रहेका डिएसपीदेखि जवानसम्मको समूह बनाएर टोली परिचालित गरिएको हो ।

७ वटा समूह बनाएर मुख्य बजारको सुरक्षामा खटिएको प्रहरीले आवश्यक परेमा थप संख्या महानगरीय प्रहरी कार्यालयबाट माग गर्ने तयारी छ । हाल करिव २० जना प्रहरी कार्यालयबाट अपराध महाशाखामा पठाएको छ ।

‘हिन्दुहरुको मुख्य पर्व दशैं, तिहार र छटजस्ता पर्वमा नागरिकहरु लुटिन, चोरिनबाट जोगाउन अभियान सुरु गरेका हौं ।’ एसएसपी खनालले भने । प्रहरीको टोली अहिले राजधानीका मुख्य चोक, चोरी, पकेटमार, गठी र लुटपाट हुने मुख्य स्थानमा खटिएका हुन्् ।

न्युरोड, बागबजार, दरबारमार्ग, ठमेल, पुतलीसडक, नयाँबानेश्वर, पुरानोबानेश्वर, असन, इन्द्रचोक, चाबहिल, नयाँबसपार्क, कोटेश्वर, गौसाला, चाबहिल, बौद्ध, लगनखेल, जाउलाखेलजस्ता मुख्य बजारमा सादा पोशाकमा हतियारसहित प्रहरी खटिएको देख्न सकिन्छ ।
बैंकहरु रहेका क्षेत्र, आर्थिक कारोबार गर्ने सहकारी, रकम सटही गर्ने स्थानमा बिशेष निगरानी बढाउन निर्देशन दिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुर र प्रहरी बृत्तहरुले दशैं तिहार सुरक्षाका लागि योजना नै बनाउँछन् । बिगतमा भएका चोरी, पकेटमार, ठगी र लुटपाटका घटनाको समीक्षा गर्दै सुरक्षा योजना बनाउन प्रहरीलाई निर्देशन दिएको काठमाडौंका प्रजिअ रामकृष्ण सुवेदीले बताए । उनका अनुसार प्रहरी परिसर काठमाडौंले आवश्यक योजना बनाएर लागू गरेपछि प्रशासनले गर्नु पर्ने काम र त्यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्नेछ ।

उपत्यकामा करिव ४० लाखको बसोबास छ । तीमध्ये चाडपर्वमा करिव २५ लाख बासिन्दा घर जाने गर्छन् । उनीहरु घर गएपछि उनीहरु बस्दै आएका घर र कोठाको सुरक्षामा पनि प्रहरीले ध्यान दिनु पर्छ । जसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिने महानगरीय प्रहरी कार्यालयका अधिकारीहरु बताउाछन् ।

प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्