अमेरिकी दूतावासको ग्रीन जोन क्षेत्रमा रकेट प्रहार


 


एजेन्सी , माघ ७
मङ्गलबार बग्दादको ग्रीन जोनभित्र तीन वटा कत्युसा रकेट खसेको छ । रकेट बग्दादबाहिरको जाफरानीया जिल्लाबाट प्रहार भएको मानिएको छ । स्रोतका अनुसार तीनमध्ये दुई रकेट अमेरिकी दूतावास नजिकै खसेको थियो । रकेट खसेपछि ग्रीन जोनमा साइरन बजेको सुनिएको थियो । त्यहाँको सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ। ‘ग्रीन जोन’ क्षेत्रमा इराकी सरकारी भवन र अमेरिकी दूतावाससमेत कैयौँ विदेशी नियोगहरु छन् ।

पछिल्लो समय ग्रिन जोन क्षेत्रमा रकेट आक्रमणको घटना बढिरहेको छ र अमेरिकाले यसका लागि इरानसमर्थित अर्धसैन्य समूहलाई जिम्मेवार ठहराएको छ । तथापि आक्रमणहरुको कसैले जिम्मा लिएको देखिँदैन । अमेरिकाले जनवरी ३ मा एक शीर्ष इरानी सैन्य कमाण्डरको हत्या गरेपछि इराकमा तनाव बढेको छ ।

यता, इराकमा महिनौँदेखिको सरकारविरुद्ध प्रदर्शन पुनः सुरु भएको छ । सोमबार प्रदर्शनकारीमाथि प्रहरी कारबाही गर्दा पाँचको मृत्यु भयो । इराकका लागि संयुक्त राष्ट्रसङ्घका दूतले इराकी राजनीतिक दलहरु राजनीतिक सुधारमाफत प्रदर्शनकारीको माग सम्बोधन गर्न तयार हुनुपर्ने सुझाव दिएका छन् ।

‘मानिसको चिन्ता र चासो सम्बोधन गर्न हालसम्म उठाइएका कदमलाई कार्यन्वयन नगर्ने हो भने त्यो खोक्रो वाचा ठहरिनेछ,’ दूत जेनाइन हेनिस–प्लासचार्टले एक वक्तव्यमा भनेका छन्, ‘शान्तिपूर्ण प्रदर्शनमाथि बल प्रयोग सह्य हुँदैन र जुनसुकै हालतमा यस्तो कदम उठाइनुहुँदैन ।’

प्रकाशित मिति: ७ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्