नेकपाका नेता–कार्यकर्तालाई यस्तो ११ बुँदे आचारस‌ंहिता


 


काठमाडौं, माघ ७
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सदस्यहरुलाई ११ बुँदे आचार संहिता जारी गरेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सर्कुलरमा पार्टीका नेता, कार्यकर्ता तथा सदस्यहरुले पालना गर्नुपर्ने आचार संहिता पनि समावेश छ ।

नेकपाभित्र पार्टी अनुशासन पालना नभएको भन्दै चर्को आलोचना भइरहेका बेला नेकपाले नेता कार्यकर्तालक्षित आचारसंहिता बनाएर लागू गर्न लागेको हो । नेता–कार्यकर्ता अवदेखि पार्टीको कडा अनुशासनमा बस्नुपर्ने भएको छ । हालैमात्र जारी नेकपाको पार्टी आचारसंहितामा आफ्ना नेता कार्यकर्तालाई अनुशासनमा बाँध्न पार्टी कमिटीहरुमार्फत सर्कुलर जारी गर्दै आचारसंहिता कार्यान्वयनमा जोड दिएको छ । हाल नेकपाका ८ लाख पार्टी सदस्य रहेका छन् । पार्टी सदस्यता विस्तारको योजना अघि सारेको नेकपाले प्रतिसदस्य अरु थप चार जना बनाएर ३२ लाख सदस्य पुर्याउने योजना अघि सारेको छ ।

तर सदस्य संख्या बढाउनुअघि पार्टीले तयार पारेको विशेष परिपत्रमा नेता, कार्यकर्ता तथा सदस्यहरुले पालना गर्नुपर्ने आचारसंहिता तय गर्दै उनीहरुलाई संविधान, पार्टी विधान र नियमावलीप्रति जवाफदेही बनाउने प्रयास थालेको छ । ‘हामीलाई इतिहासले जनताको जनवाद कार्यान्वयन गर्ने, समृद्धि हासिल गर्ने र समाजवाद निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी प्रदान गरेको छ । हामी सही नीति र प्रभावकारी संगठनात्मक प्रबन्धका साथ अघि बढेका छौं’, नेकपाले पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूलाई ११ बुँदे आचारसंहिता जारी गर्दै पालना गर्न समेत भनेको छ ।

आचारसंहिताको १ नम्बर बुँदामा नेकपाले प्रत्येक पार्टी सदस्यले श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्नुपर्ने उल्लेख गरेको छ । पछिल्लो समय श्रम नगर्ने प्रवृत्ति बढेको निष्कर्ष निकाल्दै नेकपाले यस्तो व्यवस्था गरेको बताइएको छ । त्यस्तै आचारसंहिता कार्यान्वयन गर्ने, गराउने जिम्मेवारी सवै पार्टी कमिटीहरुको भएको उल्लेख छ । आचारसंहितामा कुनैपनि पार्टी सदस्यले नेपालको संविधान र प्रचलित कानूनलाई निःसर्त पालना गर्ने र कानून बमोजिम कर तिर्ने आचरणको विकास गर्नुपर्ने भनिएको छ । त्यस्तै नेकपाले आफ्ना पार्टी सदस्यहरुलाई ऋण, सापटी वा आर्थिक लेनदेनमा विचार पु¥याउन सचेत गराएको छ ।

‘भ्रष्टाचार, कालोबजारी, गैरकानूनी कमिसन, करछली, अनियमितताजस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफूसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गर्न नमूना बन्नुपर्छ’, नेकपाको आचारसंहितामा भनिएको छ । त्यसैगरी नेकपाले आफ्ना पार्टी सदस्यहरु जुनसुकै प्रकारको श्रमिक बन्न तयार हुनुपर्ने र आफूले गरेको श्रमबाट आर्जित कमाइबाटै राज्यलाई कर तिर्नु र जीवन निर्वाह गर्नुपर्ने भनिएको छ । ‘पार्टीलाई आफ्नो कमाइबाट नियमित रुपमा सदस्यता शुल्क र लेबी बुझाउनुपर्छ’ नेकपाको आचारसंहितामा भनिएको छ ।

नेकपाले सबै तहका नेता, कार्यकर्ता र सदस्यले आफ्नो परिवारमा श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्ने भावना विकास गर्नुपर्ने तथा बेलाबेलामा परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक बसी हार्दिकपूर्ण वातावरणमा सबलै सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गुर्नपर्ने स्मरण गराइएको छ । त्यस्तै आचारसंहितामा १६ वर्ष पुगेका परिवारका सबै सदस्यहरूका बीच दिनभरि गर्नुपर्ने घरका कामहरू सम्पन्न गर्न कार्यविभाजन गर्नुपर्ने र त्यसो गर्दा सबभन्दा अफ्ठेरो काम आफूले लिनुपर्ने भनिएको छ ।

सँगै बसेर खाना खानुपर्ने
नेकपाले जारी गरेको पार्टी आचार संहितामा परिवारका सदस्यहरू सबैसँगै बसेर खाना खानुपर्ने उल्लेख छ भने बालबालिका, अशक्त र ज्येष्ठ नागरिकलाई काम लगाउनु हुँदैन भनिएको छ । ‘उनीहरूसित प्रेम, सहयोग र सद्भावपूर्ण व्यवहार गर्नुपर्छ । परिवारमा गालीगलौज, झगडा, भेदभाव र छुवाछूत पूर्णरुपले अन्त्य गर्नुपर्छ’,आचारसंहिताको एक बुँदामा नेकपाले भनेको छ, ‘चाडपर्व र अन्य कामका लागि खर्च गर्दा मितव्ययी हुनुपर्छ । घरभित्र र बाहिर पनि महिलाप्रति सम्मान प्रकट गर्नुपर्छ ।’

त्यस्तै परिवारका सदस्य र अरुसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्ने, कसैलाई पनि हेलाहोचो, तथा तँ भन्न पूर्णरुपले बन्द गर्नुपर्ने नेकपाको आचारसंहितमा उल्लेख छ । ‘छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, ब्रतबन्ध, पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ,’ नेकपाको नयाँ आचरसंहितामा भनिएको छ ।

आचार संहिताको अन्त्यमा पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र विधान, नियमावली, निर्णय तथा आचारसंहिता पालना गर्नु प्रत्येक पार्टी सदस्यको कर्तव्य रहेको भन्दै यसको पालना नगर्ने तथा पटक–पटक सचेत गराउँदा पनि नसुध्रने सदस्यलाई कानूनसँग सम्बन्धित सवालमा कानून बमोजिम, पार्टी अनुशासनसँग सम्बन्धित सवालमा पार्टी विधान, नियमावली र निर्णय बमोजिम कारवाही गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति: ७ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्