यसरी बन्यो उपसभामुखको राजीनामा योजना, पार्टीको निर्देशनप्रति आक्रोश
काठमाडौं, माघ ७
‘मेरो के गल्ती छ ? एक जनाको दोषको म किन भागीदार बन्ने ’ एक जना चारित्रिक अपराधमा जेल जाने, मलाई सजाय हुने’ मैले उपसभामुख छाड्नुपर्ने कारण के हो ? पार्टीले लिखित देओस्।’
उपसभामुख डा। शिवमाया तुम्बाहाङफे आइतबार साँझसम्म नेकपा शीर्ष नेतृत्वलाई यही प्रश्न गरिरहेकी थिइन्। यस अवधिमा उनले सभामुख पदमा आफैं उम्मेदवार बन्न कोसिस पनि गरिन्। नेकपाले अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेपछि भने उनको दौडधुप काम लागेन। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आइतबार बिहान सापकोटाका विषयमा सहमतिमा पुगेका थिए।
उनी अन्तिमसम्म पनि प्रतिनिधिसभालाई नेतृत्वविहीन अवस्थामा छाड्न पदीय जिम्मेवारीले नदिने अडानमा रहिन्। उनले अन्ततः सोमबार उपसभामुख पदबाट राजीनामा दिएकी छन्। आफूलाई उपसभामुखमा निर्वाचित गराउने पार्टी नेकपालाई सभामुखमा उम्मेदवारी दिन उनले संवैधानिक रूपमै बाटो खोलिदिइन्। पार्टीले उम्मेदवार घोषणा नगर्दासम्म राजीनामा नदिने सर्त तेस्र्याएकी उनले आफ्नो अडान त जितिन् तर पदीय हैसियत जोगाउन सकिनन्।
४ पुसमा सुरु संसद्को हिउँदे अधिवेशन यो अवधिमा तीनपटक सूचना टाँस गर्दै स्थगन भयो। तर, उनले नेकपाले सभामुख उम्मेदवार चयन नगर्दासम्म राजीनामा नदिने अडानमा जितिरहिन्। संसदमा पनि उनले बैठकै राखेर आफूले राखेको अडानको बचाउ गरिन्। त्यसपछि मात्र पदबाट राजीनामा दिइन्। प्रतिनिधिसभाको पहिलो बैठकमा सोमबार उनले दुई पृष्ठको लिखित मन्तव्य दिइन्। त्यसपछि बैठक दुई घण्टा स्थगन गरी बानेश्वरस्थित आफ्नै कार्यकक्षमा संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईलाई बोलाई पदबाट राजीनामा दिइन्।
उनले राजीनामाअघि सोमबार बिहान ११ बजे प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष दाहालसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेकी थिइन्। त्यहाँ उनले आफ्नो राजीनामा प्रक्रियाका विषयमा छलफल गरेकी उनीनिकट स्रोतले बताएको छ। उनले ओली र दाहालसँग आफूले कसरी राजीनामा दिने भन्नेबारे बेलीविस्तार लगाइन्– ‘पहिले संसद् बैठक चलाउने, त्यहाँ आफ्ना कुरा सांसदहरूबीच राख्ने र आफ्नो अडान संसदमा रेकर्ड गराउने, त्यसपछि पत्रकार सम्मेलन गर्ने र अर्को बैठक राखेर त्यही दिन राखेर ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक राखी सभामुख निर्वाचन प्रक्रिया थाल्ने।’
उनको राजीनामाका विषयमा प्रधानमन्त्री ओलीसँग छलफल गर्न दाहाल बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। तुम्बाहाङफेलाई त्यहीं बोलाएर दुई अध्यक्षले छलफल गरेका थिए।
तुम्बाहाङफे बालुवाटारमा आधा घण्टा छलफल गरी सिंहदरबार फर्किइन्। कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनतिर नलागी उनले कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाण र सचेतक पुष्पा भुसालसँग कुरा गरिन्। संसदमा आफूले दिने मन्तव्यको भाषाका विषयमा सिंहदरबारस्थित कार्यकक्षमा उनले नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङलाई बोलाएर छलफल गरिन्। आफूले तयार पारेको मन्तव्यको ड्राफ्ट सुनाइन्।
त्यसपछि प्रतिनिधिसभा बैठक राखेर उनले दुई पृष्ठको लिखित मन्तव्य सुनाइन्। संसद्को पहिलो सत्रपछि उनले संसद्का सभामुखलाई सम्बोधन गर्दै संविधानको धारा ९१ को उपधारा ६० को खण्ड (ख) तथा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २११ को उपनियम ९१० बमोजिम उपसभामुख पदबाट राजीनामा दिएकी हुन्।
‘अब नयाँ लक्ष्य’
उनले राजीनामापत्र संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईलाई बुझाइन्। ‘उहाँले पहिलो सत्रको संसद् बैठकपछि सभामुखलाई सम्बोधन गरेर मलाई राजीनामा बुझाउनुभएको हो’, महासचिव भट्टराईले अन्नपूर्णसँग भने। राजीनामापत्र बुझाएपछि डा। तुम्बाहाङफेले बानेश्वरकै शंकर हलमा पत्रकार सम्मेलन गरिन्। हलको एउटा कुनामा नेकपा केन्द्रीय सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठ र सँगैको कोठामा नेकपा सांसद (महिला)लाई राखेर पत्रकारसँग उनले झन्डै आधा घण्टा कुरा गरिन्।
उनले आफूले पद छाड्नुपरे पनि बाजी भने मारेको जिकिर गरिन्। ‘मैले जे बोलें त्यो पुर्याएँ। नेताले भनेको आधारमा होइन, संविधानले दिएको अधिकारको आधारमा मैले राजीनामा गरें’, उनले भनिन्, ‘बाजी मैले नै मारें। अब मेरो कामको ट्र्याक चेन्ज भएको छ। परिवर्तन भएको छ। यूटर्न भएको छ। म नयाँ लक्ष्यसहित अगाडि बढ्नेछु।’
उनले सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गरिरहँदा नै कतिपय सांसदलाई लागेको थियो– उनले संसद्बाटै राजीनामाको घोषणा गर्ने भइन्। तर, उनले त्यसो गरिनन्। उनको मन्तव्य नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले अघिपछि गएर केही बेर सुने।
‘दलबाट सिफारिस या निर्वाचित भएर प्राप्त हुने जिम्मेवारी भए पनि संवैधानिक ओहोदामा बसुन्जेल सम्बन्धित व्यक्ति दलसँगको सम्बन्धबाट अलग रहेको हुन्छ। उक्त ओहोदामा रहँदा ऊ दलको निर्देशनमा होइन, संवैधानिक र कानुनी प्रबन्धअनुसार निर्देशित भएर क्रियाशील हुन्छ। मैले पनि यसैअनुसार नै इमानदारिताका साथ कर्तव्य पूरा गर्ने प्रयास गरेकी छु’, उनले संसदमा भनिन्, ‘समावेशी लोकतन्त्रका माध्यमबाट न्यायपूर्ण र समृद्ध समाज निर्माण गर्ने अभियानमा म भिन्न रूपमा, अविचलित र अवि श्रान्त रूपमा क्रियाशील भई नै रहनेछु।’
पार्टीको निर्देशनप्रति आक्रोश
नेकपाले २६ पुसमा पदबाट राजीनामा दिन गरेको निर्णयप्रति उनले संसददेखि पत्रकार सम्मेलनसम्म रोष प्रकट गरेकी थिइन्। ‘मैले दलको निर्देशन नमानेकै हो। आग्रह भए सोचिन्थ्यो। म दलको उपसभामुख थिइनँ। प्रतिनिधिसभाको थिएँ, दलीय व्यवस्थाअनुसार उपसभामुख निर्वाचित भएकाले दलसँग समन्वय र सहकार्य गरिरहेकी थिएँ’, उनले भनिन्, ‘दलको अर्डरबाट प्रतिनिधिसभालाई जोगाउन सक्छु कि सक्दिनँ भन्ने लडाइँमा थिएँ। त्यसमा सफल भएकी छु।’
पार्टीभित्रको पितृसत्ताले आफूलाई स्वीकार गर्न नसकेको उनको अभिव्यक्तिमा प्रस्ट झल्किन्थ्यो। ‘नेपालमा पितृसत्ता एकदम बलियो छ। राजसंस्थालाई सहजै फालिदियौं तर पितृसत्ता फाल्न बाँकी छ, गाह्रो पनि छ’, उनले भनिन्। कतिपयले उनले लिएको अडानमा राष्ट्रपति–प्रधानमन्त्रीको पर्दा पछाडिबाट ढाडस रहेको आँकलन गरेका थिए। जाँदा–जाँदै त्यसको जवाफ पनि उनले दिन चाहिन्।
‘मेरो ब्याकअपमा कुनै व्यक्ति वा संस्था होइन, संविधान थियो। व्यक्ति र संस्था संविधानपछिका हुन्’, उनले भनिन्, ‘मलाई संविधानले नै यहाँसम्म पुर्याएको हो। आज पनि अगाडि बढेको भए नेकपासँग संविधानअनुसार महाभियोग लगाउने मात्र विकल्प थियो। मैले हटाउने भए महाभियोग लगाएर हटाऊ पनि भनेकी थिएँ तर हामी सबैले यसको सहज निकास निकाल्यौं।’
ज्येष्ठ सदस्यको निर्देशन सुन्दै बिदा
पत्रकारले उनलाई प्रश्न गरे – ‘के अब तपाइँ मन्त्री बन्दै हुनुहुन्छ ’ उनले यसबारे भने खुलेर कुरा गरिनन्। राजीनामाका क्रममा उनले भनेका यूटर्न, नयाँ लक्ष्य र ट्रयाक चेन्ज के हो त भन्ने जिज्ञासामा उनको जवाफ भने अर्थपूर्ण थियो। ‘अहिले मैले उपसभामखुबाट राजीनामा दिएकी हुँ, अरू विषय मलाई अहिले थाहा छैन’, उनले भनिन्, ‘अरू कुरा भविष्यमै थाहा हुन्छ। यसमा तपाईहरू नै खोजी गर्नुहोस्।’ अन्नपूर्णमा खबर छ ।
उनी पत्रकार सम्मेलनपछि केही बेर नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमै महिला सांसदसँग फोटो सेसनमा बसिन्। ‘दुई वर्षदेखि म दलको कार्यालय गएकी छैन, दलको कार्यालय जाऔं’ उनले त्यसपछि बनाएको कार्ययोजना थियो। उनी सिंहदरबारस्थित दलको कार्यालय पुगिन्। दलका नेता प्रधानमन्त्री ओलीको कार्यकक्षमा बसेर उनले नेकपा नेताहरूसँग भलाकुसरी गरिन्।
दोस्रो सत्रका लागि फेरि बानेश्वर आइन्। आफैंले दिएको राजीनामापत्र सुन्दै नयाँ निर्वाचन प्रक्रिया सुरु गर्न अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्यले महासचिवलाई दिएको निर्देशन सुनेर अन्ततः उनी दुई वर्षको उपसभामुखको भारी बिसाएर निवास फर्केकी थिइन्।
प्रकाशित मिति: ७ माघ २०७६, मंगलबार