प्रचण्डलाई सवा लाख वर्ष कैद !


 


मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार ६ वटा अपराध गरेमा जन्मकैद हुने व्यवस्था छ। ऐनमा भएको व्यवस्थाअनुसारक्रूर यातना दिएर वा निर्ममतापूर्वका कसैको हत्या गरेमा, विमान अपहरण गरेर विस्फोट गराइ ज्यान लिएमा, कसैलाई अपहरण गरी ज्यान लिएमा, पेय पदार्थमा विष हाली कसैको ज्यान लिएमा, जबर्जस्ती करणी गरी ज्यान लिएमा, कुनै जाति वा सम्प्रदायको अस्तित्व नै लोप पार्ने गरी जाति हत्या गरेको वा गर्ने उद्देश्यले कसुर गरेमा जन्म कैद हुने व्यवस्था छ।

यस्तो कसुरमा संलग्नलाई जीवित रहेसम्म कैद गर्नुपर्ने व्यवस्था पनि छ। यी कसुरबाहेक जन्म कैदको गणना गर्दा भने २५ वर्ष कैद सजाय हुनेगरी गणना गर्नुपर्ने पनि सोही ऐनमा उल्लेख छ।

भर्खरै तत्कालीन माओवादी अध्यक्ष (हाल नेकपा अध्यक्ष) पुष्पकमल दाहालले माओवादी ‘जनयुद्ध’का क्रममा मारिएका ५ हजार जनाको जिम्मा आफूले लिने बताएका छन्। उनीजस्तो चलाख र शक्तिशाली नेतालाई आजीवन थुन्ने निर्णय त कसले गर्न सक्ला र ?जन्म कैदलाई २५ वर्षको दरले हिसाव गर्ने हो भने उनी कति वर्ष कारागार बस्नुपर्ला भन्ने कौतुहलचाहिँ सबैलाई लाग्न सक्छ। त्यसैले ५ हजार गुणा २५ वर्ष गर्दा १ लाख २५ हजार वर्ष हुने रहेछ।

प्रहरी हिरासत र अदालतमा पुगेरसमेत अभियुक्तले आफ्नो अपराध स्वीकार नगर्ने देशमा तत्कालीन माओवादी अध्यक्षले आफैँ ५ हजार जना मारिएको जिम्मेवारी लिने आँट गर्नु आफैँमा ठूलो साहसपूर्ण काम हो। जसको प्रशंसा जति गरे पनि पुग्दैन। के अब उनलाई कानुनले व्यवस्था गरेअनुसारको सजाय होला त अब ? चोक/चोकमा छलफल भइरहेको सुनिन्छ। नागरिक दैनिकबाट

प्रकाशित मिति: ७ माघ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्